राजनीति

सत्ता गठबन्धनको चुनाव परिचालन समितिको बैठक बुधबार बस्ने

काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह चुनाव परिचालन तथा अनुगमन समितिको बैठक भोलि (बुधबार) दिउँसो २ बजे बस्ने भएको छ ।

आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव परिचालन तथा अनुगमन समिति गठन गरेको थियो ।

नेता पौडेलले बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने गरी बैठक बोलाएका हुन् ।

समितिका संयोजक पौडेलले स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्ने गरी पहिलो बैठक बोलाएको बताए ।

‘सत्ता गठबन्धन दलहरूबीच तालमेल गरेर जाने तयारी छ, त्यही कहाँ कसरी गर्ने ? कसरी परिचालन गर्ने ? भन्नेबारे छलफल गर्ने हो,’ पौडेलले भने, ‘सबै पार्टीहरूको धारणा अनुसार नै चुनाव परिचालनको मोडेल तयार गर्छौ ।’ समितिमा सत्ता गठबन्धनमा रहेका पाँच दलका नौ जना नेताहरू सदस्य छन् ।

जसमा काँग्रेसबाट महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र भौतिक पूर्वाधार मन्त्री रेनु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *