काठमाडाैँ । निर्वाचन आयाेगले मंगलबार बाेलाएकाे बैठकमा दलहरूले विवाद गरेका छन् । दलका नेताहरूले माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी [लाेसपा] कसरी राष्ट्रिय दल भए ? भनेर प्रश्न गरेका हुन् ।
यससँगै दलहरूले निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नसमेत अटेर गरेका छन् । हस्ताक्षरका लागि आफूहरूलाई दबाब दिएकाे भन्दै दलहरू नाराबाजीमा उत्रिएका हुन् । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो । तर, उनीहरूले हस्ताक्षर गरेका छैनन् ।
यसपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूलाई विवाद नगर्न आग्रह गरेका छन् । ‘कानून बनाउने तपाईंहरू नै हाे, निर्वाचन आयाेगे भनेकाे त तपाईंहरूले बनाउनुभएकाे/ संसद्ले बनाएकाे कानूनलाई लागू गर्ने संस्था मात्रै हाे,’ उनले भनेका छन्, ‘अब आफैँले बनाएकाे कानून मान्न किन तपाईंहरूलाई गाह्राे भएकाे हा ?’
उनले एकीकृत समाजवादी र लाेसपा पनि विधिसम्मत् नै राष्ट्रिय पार्टीमा दर्ज भएकाे बताए । राजनीतिक दलसम्बन्धीकाे व्यवस्था र संविधानअनुसार नै यी २ पार्टीलाई राष्ट्रिय पार्टी भएकाे आयुक्त थपलियाले जिकिर गरेका छन् ।
एकीकृत समाजवादी र लाेसपा क्रमश: एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दलहरू हुन् । गत भदाै ९ गते निर्वाचन आयाेगमा दर्ता भएका यी २ दल अहिले राष्ट्रिय पार्टीकै हैसियतमा निर्वाचनमा हाेमिँदै छन् ।
तर, राष्ट्रिय पार्टीकाे मान्यता नपाएका दलहरूले भने यसकाे विराेध गरिरहेका छन् ।




