काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गरेर स्वदेश फर्किएपछि पहिलोपटक गठबन्धनको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बस्ने गठबन्धनको बैठकमा आगामी स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे थप छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । यसअघि बसेकाे बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे बहस सुरु भएको छ ।
गठबन्धनका दलहरूबीच जाजरकोट, अछाम, तनहुँ, चितवन,नुवाकोट,धनकुटा, कास्की, कञ्चनपुर, अर्घाखाँची, बागलुङ, तेह्रथुमलगायत जिल्लामा निर्वाचनमा मिलेर जाने सहमति भैसकेकाे छ तर, तालमेलको स्पष्ट खाका नबनिसकेका कारण जिल्लास्तरबाट भइरहेका गठबन्धन गर्ने निर्णय कार्यान्वयनमा अघि बढ्न सकेकाे छैन ।




