समाचार

रित्तिँदै गाउँपालिका, भरिँदै नगरपालिका

काठमाडौँ । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा दुई पटक गरी एक हजार एक सय कर्मचारी सुगम स्थानीय तहमा सरुवा गरेको छ । यतिका कर्मचारी सुगम स्थानीय तहमा सरुवा भएसँगै दुर्गम क्षेत्रका गाउँपालिकामा कर्मचारीको अभाव झनै बल्झिएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार कुल ४६० गाउँपालिकामध्ये अहिले करिब ६० प्रतिशतमा पर्याप्त कर्मचारी छैनन् । भएका कर्मचारी पनि विभिन्न बहानामा सुगम स्थानीय तहमा सरुवा भएका छन् । प्रदेश १ का तप्लेजुङको पाथीभरायाङ्वरक गाउँपालिका अध्यक्ष केशवकुमार सुब्बाले गाउँपालिकामा छवटा वडामध्ये एउटा वडामा मात्र वडासचिव रहेको र बाँकी सबै सरुवा भएर सुगम स्थानीय तहमा गएको बताए । उनले भने, “अब वडा कार्यालयमा कर्मचारीविहीन अवस्थामा पुगेको छ, कतिपय वडामा त कार्यालय सहयोगीले वडा कार्यालय धानेर बस्ने गरेका छन् । गाउँपालिकामा पनि कर्मचारी पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।”

रिक्त कर्मचारीको दरबन्दीमा दुई वर्षअगाडि गाउँपालिका आफैँले लोक सेवामार्फत विज्ञापन गरी भर्ना गरिएका कर्मचारीले विभिन्न समस्या देखाएर पायक पर्ने सुगम स्थानीय तहमा सरुवा भएको गुनासो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *