खेलकुद

ट्रायथोलन एसिया कप- जापान र ताजकिस्तानको वर्चश्व

पोखरा । ट्रायथोलन एसिया कपको उपाधिमा विदेशी खेलाडीले वर्चश्व जमाएका छन् । पुरुषमा जापानिज र महिलातर्फ काजकिस्तानकी खेलाडीले उपाधि जिते ।

पोखरामा सनिबार एसिया कप र साउथ एसियन च्याम्पियनशीप आयोजना गरिएको हो । एसिया कपको स्प्रिन्टतर्फ जापानका जेन्ता युचिदा विजयी भए ।सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड उनले ५३ मिनेट १४ सेकेण्डमा पार गरे । जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पूरा गर्दै दोस्रो हुँदा अष्ट्रियाका लियोन पोगर ५३ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै तेस्रो भए।

महिलातर्फ काजकिस्तानकी इकातेरिना शाबालिनाले एक घण्टा दुई मिनेट २० सेकेण्डमा सबै इभेण्ट पूरा गर्दै पहिलो भइन् । जापानकी हिराकु फुकुओकाले एक घण्टा दुई मिनेट ५३ सेकेण्डमा पूरा गरेर दोस्रो हुँदा काजकिस्तानकै नाडेज्दा बेक्मागान्वेतोभाले तेश्रो भइन् ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरी सात राष्ट्रका पुरुषतर्फ ३७ र महिलातर्फ २० गरी ५७ खेलाडीले सहभागिता जनाएका थिए ।

यता, दक्षिण एसियाली ट्राइयाथोलन च्याम्पियनशीपको उपाधि भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरेका छन् । आदर्शले ५९ मिनट १० सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जितेका हुन् ।

यस्तै, पहिलो संस्करणकी विजेता प्रग्न्याले एक घन्टा ६ मिनेट २२ सेकेन्डमा दुरी पूरा गर्दै महिलातर्फको उपाधि उचालेकी छिन् । भारतकै राहुल धनजी सिन्धे र विश्वनाथ यादव दोश्रो र तेश्रो भए । महिलातर्फ मानषी मोइते दोश्रो र संजना जोशी तेस्रो भइन् ।

राष्ट्रिय प्रतिस्पर्धामा सेनाका वसन्त थारु र एपिएफकी सोनी गुरुङ विजयी भए । थारुले एक घन्टा तीन मिनट दुई सेकेन्ड र सोनीले एक घन्टा ११ मिनट १७ सेकेन्डमा सबै इभेण्ट पूरा गरेका थिए । ट्रायथोलनका दुवै इभेण्टमा विजेताले चार हजार दुई सय अमेरिकी डलर पुरस्कार पाएका छन् । आइतबार दुवाथोलनतर्फका खेल हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *