काठमाडौँ । कतारमा हुने फिफा विश्वकप फुटबलका लागि लगभग सबै छनोट देशहरूको टुंगो लागि सकेको छ । अहिलेसम्म २९ देश छनौट भैसकेका छन् भने बाँकि तीन देशको छनौटको बाटो पनि तय रहेको छ । संयुक्त राज्य अमेरिका र क्यानडा सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कने देश मध्येका एक हुन्, जबकि इक्वेडर र घानाले पनि विश्वकपमा आफ्नो पुनरागमन गरेका छन् । त्यस्तै विश्वकपको आयोजक राष्ट्र कतारले पनि पहिलो पटक फिफा विश्वकप खेल्न लागि रहेको छ ।
विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।
अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।
त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एशियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ ।
त्यसैगरि उत्तर अमेरिकी क्षेत्रबाट कोष्टा रिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टा रिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्ने भएको छ ।
यसक्रममा केही उच्च वरियता रहेका देशहरु यस विश्वकपमा छनौट हुन असफल भएका छन् । विश्वकपको हरेक संस्करणमा, कुनै न कुनै उच्च वरियताका देशहरु बाहिर रहने गर्दछन् । २०१८ विश्वकपमा युरोपेली दिग्गज इटाली, नेदरल्याण्ड्स, चिली र संयुक्त राज्य अमेरिका गुमाउने राष्ट्रहरू थिए । त्यस्तै २०१४ मा डेनमार्क, स्वीडेन र सर्बिया प्रतियोगिताबाट बाहिर थिए । कतारमा हुने यस विश्वकपमा पुग्न असफल भएका पाँच उच्च वरियताका देशहरूको चर्चा यस रिपोर्टमा गर्न लागिएको छ ।
५ इजिप्ट- वरियता ३२
फिफा वरियतामा ३२औं स्थानमा रहेको अफ्रिकी देश इजिप्ट कतार विश्वकपमा छनौट हुन असफल भएको छ । यस अघि तीन पटक १९३४, १९९० र २०१८ मा फिफा विश्वकप खेलेको इजिप्ट यस पटक अन्तिम चरणमा सेनेगलसँग पराजित हुदै विश्वकपमा पुग्न असफल भएको हो । लिभरपुलबाट खेल्ने मोहमद सलाहको टिम इजिप्ट यस पटक विश्वकपमा पुग्न नसकेको चर्चित देश मध्ये एक हो । यस अघि तीन पटकका विश्वकपमा इजिप्ट समुह चरणबाट अगाडी जान भने सकेको छैन ।
४ चिली- वरियता २८
चिली कतारमा फिफा विश्वकपको टोलीको हिस्सा हुनेछैन । युरोपभरि खेल्ने स्टार खेलाडीहरूले भरिएको चिलीको राष्ट्रिय टोलीले छनोटमा प्रभाव पार्न सकेन, जसको कारण कतार विश्वकपबाट बाहिर भएको छ । चिली छनौटमा सातौ स्थानमा रहदै विश्वकपमा पुग्न असफल भएको हो । चिलीले आफ्ना १८ छनोट खेलहरूमध्ये नौ हारेको थियो भने पाँचमा मात्र जित हात पारेको थियो ।
२०१५ र २०१६ कोपा अमेरिकाका विजेताहरू चिलीसँग एलेक्सिस सान्चेज, आर्टुरो भिडाल, ग्यारी मेडेल र मौरिसियो इस्ला लगायतका स्टार खेलाडीहरूले भरिएको टोली भएपनि विश्वकप गुमाएको छ । चिली विश्वकपमा यस अघि २०१८ मा पनि छनौट हुन असफल भएको थियो । पछिल्लो पटक २०१४ को विश्वकप खेलेको चिली अहिलेसम्म ९ विश्वकप खेलेको छ । अहिलेसम्म चिलीले विश्वकपमा सन् १९६२ मा तेस्रो स्थान हासिल गरेको थियो ।
३ स्वीडेन – श्रेणी १९
४० वर्षीय ज्लाटन इब्राहिमोभिकको अन्तर्राष्ट्रिय फुटबलमा फर्किए पनि स्वीडेनका युवा गनले २०२२ फिफा विश्वकपमा स्थान बनाउन सकेनन् । स्वीडेन रोबर्ट लेवान्डोस्की र पोल्याण्डको राष्ट्रिय टोलीसँग प्लेअफमा पराजित हुदै विश्वकपमा पुग्न असफल भयो । स्टार खेलाडी इब्राहिमोभिचले विश्वकपमा कहिल्यै गोल गरेका छैनन् र यो वर्ष कतारमा विश्वकप खेलेर विश्वकपमा गोल गर्ने उनको अभिलाषा अधुरो रहने भएको छ ।
अहिलेसम्म १२ विश्वकप खेलेको स्विडेन सन् १९५८ को विश्वकपमा उपविजेता बनेको थियो ।
२ कोलम्बिया- वरियता १७
कोलम्बिया फिफा वरियताको १७औ स्थानमा रहेको कतार विश्वकपमा नदेखिने प्रमुख टिम मध्ये एक हो । यस अघि ६ पटक विश्वकपमा खेलेको कोलम्बियाले २०१४ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । कोलम्बिया २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । २०१४ र २०१८ मा लगातार दुई फिफा विश्वकपमा छनोट भएपछि कोलम्बिया यस पटक भने असफल भएको छ ।
१ इटाली- वरियता ६
इटाली कतार विश्वकपमा नदेखिने सबैभन्दा ठुलो टिम हो । आफ्नो इतिहासमा पहिलो पटक इटालीले लगातार दुई फिफा विश्वकप गुमाएको छ । प्लेअफको सेमिफाइनलमा उत्तरी म्यासेडोनियासँग १-० ले पराजित हुदै इटालीले यो विश्वकप पनि गुमाएको हो । विश्वकपमा इटालीको अन्तिम उपस्थिति सन् २०१४ मा ब्राजिलमा भएको थियो, जुन समूह चरणमा समाप्त भएको थियो ।
अहिलेसम्म इटाली १८ पटक विश्वकपमा सहभागी भएको छ भने चार पटक १९३४, १९३८, १९८२ र २००६ मा विश्वकपको उपाधि जितेको छ ।




