काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल बाध्यकारी नभएको बताएका छन् ।
काभ्रेपलान्चोक जिल्ला कमिटीले बनेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आवश्यकताका आधारमा र भावनामा तालमेल हुने बताए ।
‘निर्वाचनमा अन्य दलसँगको तालमेल बाध्यकारी भने हैन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ’, महामन्त्री शर्माले भने ।
सत्ता गठबन्धबीच चुनावी तालमेल हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उनले बताए । साथै तालमेल भएको खण्डमा साझा चुनावी घोषणापत्र बनाउनु पर्ने उनले बताएका छन् ।
काभ्रेपलान्चोक जिल्ला सभापति तीर्थ लामाले आसन्न स्थानीय तह निर्वाचनमा जिल्लाको १३ वटै स्थानीय तहमा कांग्रेसले जित्ने दाबी गरेका छन् ।
पार्टीको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आफूहरुले सोही अनुरुपको योजनाका साथ सञ्चालन गरिरहेको पनि उनले बताए ।




