काठमाडौँ । युक्रेनमा रुसका आठौ वरिष्ठ सेनाका अधिकारी मारिएका छन् । केहिदिन अघि खार्किभको भिडन्तमा रुसका कर्नेल डेनिस कुरिलो मारिएको युक्रेनले दाबि गरेको छ । कुरिलो रुसको २००औ राइफल ब्रिगेडका कर्नेल थिए ।
२००औँ मोटराइज्ड राइफल ब्रिगेडले खार्किभको भिडन्तमा ठुलो क्षति बेहोरेको युक्रेनले दाबि गरेको छ । खार्किभमा यस ब्रिगेडका कर्नेल कुरिलो सहित १५ सय सेना मारिएको युक्रेनी सेनाको प्रेस विभागले दाबि गरेको छ ।
कुरिलो युक्रेनमा मारिने आठौँ वरिष्ठ सैनिक अधिकारी हुन् । यसअघि युक्रेनका विभिन्न ठाउमा रुसका सात वरिष्ठ सैनिक अधिकारीहरु मारिएका थिए ।
यस अघि युक्रेनमा रुसी नौसेनाका पहिलो श्रेणीका क्याप्टेन एन्ड्री पालीको भिडन्तमा मृत्यु भएको थियो । ५१ बर्षीय पाली रुसको ब्ल्याक सी फ्लीटका डेपुटी कमाण्डर थिए र आक्रमणमा मारिएका पहिलो नौसेना अधिकारी मानिन्छन् ।
यसअघि युक्रेनले रुसी सेनाका लेफ्टिनेन्ट जनरल आन्द्रेई मोर्दभिचेभलाई मारेको बताएको थियो, जो अहिलेसम्मको लडाईमा मर्ने सबैभन्दा वरिष्ठ रूसी जनरल हुन् ।
रुसको युक्रेन आक्रमणमा अहिलेसम्म कोस्ट्रोमाबाट ३३१औं गार्ड प्यारासुट असल्ट रेजिमेन्टका कर्णेल सर्गेई सुखारेभ मार्च १८ मा मारिएका थिए भने ४७ वर्षीय आन्द्रेई सुखोभेत्स्की मार्च ३ मा स्नाइपरको विशेष अपरेशनमा मारिएका थिए ।
त्यस्तै रुसी सेनाको १५०औं राइफल डिभिजनका ४७ वर्षीय कमाण्डर मेजर जनरल ओलेग मित्याएभ, घेराबन्दी गरिएको शहर मारिउपोल वरिपरि लडाइँमा मारिए । त्यसैगरी ४५ बर्षिय मेजर जनरल भिटाली गेरासिमोभ मार्च ७ मा पूर्वी शहर खार्किभ बाहिर मारिए भने कर्णेल गार्ड्स ट्याङ्क डिभिजनका कमाण्डर एन्ड्रे कोलेस्निकोभ मार्च ११ मा लडाइँमा मारिएका थिए ।




