किभ । युक्रेनले राजधानी शहर किभको आसपासको क्षेत्रबाट रुसी सेना भागेर फिर्ता गएको दाबी गरेको छ । युक्रेनी सेनाका शीर्ष अधिकारीले आइतबार यस्तो दाबी गरेका हुन् ।
रुसले एक महिनाभन्दा लामो समयदेखि जारी राखेको आक्रमणको विषयमा जानकारी दिने क्रममा युक्रेनी सेनाका अधिकारीले यस्तो बताएका हुन् । उनका अनुसार ठूलो नोक्सानीपछि रुसी सेनाका दुई समूह बेलारुसतर्फ फिर्ता गएका हुन् ।
त्यस्तै युक्रेनले पछिल्लो समय निकै कम मात्रामा मात्र रुसी सेना युक्रेनतर्फ आइरहेको बताएको छ । त्यस्तै बेलायतको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनको काला सागरको समुद्री मार्ग रोकेको छ ।
गत साता रुसले आफूहरु अहिले युक्रेको पूर्वी भागमा केन्द्रित रहेर सैन्य आक्रमणको तयारीमा रहेको बताएको थियो । तर, त्यसयता पनि युक्रेनका प्रमुख शहरमा भइरहेको आक्रमण भने रोकिएको छैन ।




