समाचार

चीनको प्रमुख चासो सुरक्षा

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनले नेपाली भूभाग प्रयोग भएर चीन विरोधी गतिविधि हुनसक्ने भन्दै चासो व्यक्त गरेको छ। नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटघाटमा नेपाली भूमि तिब्बतसहित चीन विरोधी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै सुरक्षा चासो व्यक्त गरेका हुन्।

नेपालमा बेलाबेलामा हुने तिब्बत विरोधी गतिविधिबाट सशंकित चीनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट अनुमोदन भएसँगै थप सुरक्षा चासो व्यक्त गरेको हो। एमसिसीलाई हिन्द प्रशान्त रणनीतिको अंगका रूपमा बुझेको चीनले त्यसको कार्यान्वयन हुँदा आफ्नो सुरक्षामा खतरा हुन सक्ने आकलन गर्दै आएको छ। विदेशमन्त्री वाङको आकस्मिक नेपाल भ्रमणका क्रममा भएका भेटवार्तामा उनले यही कुरालाई प्राथमिकताका साथ उठाएका हुन्।

‘चीन नेपालको सम्प्रभुता, स्वतन्त्रता र आन्तरिक मामिलामा हस्तक्षेप तथा नेपालमा भूराजनीतिक खेलका प्रयासको विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ, ‘चीन नेपाल मामिलामा नेपाली जनता आफैंले निर्णय गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ।’ चीनले नेपालको स्वतन्त्र आन्तरिक विदेशनीतिको समर्थन गर्ने, चीनको नजरमा साना वा ठूला मुलुक समान भएको तथा उनीहरू सबैको सम्प्रभुता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *