काठमाडौँ । डेनमार्कको राष्ट्रिय टिममा पुनरागमन गरेका क्रिस्टियन एरिक्सनले गोल समेत गरेका छन् । गत जुन १२, २०२१ मा कोपेनहेगनमा युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा मुटुमा समस्या भएपछि मैदानमै ढलेका एरिक्सनले ९ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरेका हुन् ।
उनले व्यावसायिक फुटबलमा यस अघि नै प्रिमियर लिग क्लब ब्रेन्टफोर्डबाट फुटबलमा पुनरागमन गरेका थिए ।
एरिक्सनले गएराती सम्पन्न डेनमार्कको नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै गोल गरेका हुन् । सो खेलमा डेनमार्क नेदरल्यान्ड्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।
नेदरल्यान्ड्सका लागि स्टेभेन बेर्गविजनले दुई गोल गरेका थिए भने नाथन आके र मेम्फिस डिपेले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका लागि जान्निक भेस्टरगार्ड र क्रिस्टियन एरिक्सनले एक एक गोल गरेका थिए ।
एरिक्सनले प्रिमियर लिगमा खेल्न शुरु गरेपछि डेनमार्कको राष्ट्रिय टिममा पनि समावेश गरिएको हो ।
एरिक्सनको मुटुमा समस्या भएपछि डिफिब्रिलेटर लगाइएको छ । शुरुवातमा उनी फेरी मैदानमा फर्किन नसक्ने बताइएको भएपनि अहिले उनलाई डाक्टरहरुले फुटबल खेल्न अनुमति दिएका छन् ।
३० वर्षीय प्लेमेकर एरिक्सनले ब्रेन्टफोर्डसँग ६ महिनाको सम्झौता गरेर हाल खेलिरहेका छन् ।
एरिक्सन मुटुको समस्यापछि ब्रेन्टफोर्डमा पहिलो पटक फेब्रुअरी २६, २०२२ मा न्यूक्यासलविरुद्ध ३८ मिनेट खेलेका थिए । त्यसपछि मार्च ५ मा नर्विच सिटीसँगको भिडन्तमा पुरै ९० मिनेट खेलेका थिए ।




