काठमाडौं । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रुबाहक विमानमा रहेका सबै एक सय ३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटनालगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ताहरू परिचालन गरिए पनि विमानको ‘ब्ल्याकबक्स’ मात्रै फेला परेको छ ।
चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रुको मृत्यु भएको घोषणा गरेका हुन् ।
‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ । कोही पनि जीवितै भेट्न सकिएको छैन । यो अत्यन्त दुःखद खबर हो,’ चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जियाङले भने । घटनामा परी मृत्यु भएकामध्ये एक सय २३ जना यात्रु र नौजना चालक दलका सदस्य रहेको पनि उनले स्पष्ट पारे ।
घटनास्थलमा खोजी तथा उद्धारका लागि चिनियाँ कम्युनिस्ट पार्टी र राज्य परिषद्को सिफारिसमा अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकहरूलगायत खटिएका थिए । घटनामा मृत्यु भएकामध्ये एक सय २० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
दक्षिण-पश्चिमी चिनियाँ प्रान्त युनानको राजधानी कुन्मिङदेखि गुन्डोङ प्रान्तको राजधानी गोन्झाउतर्फ जाँदै गरेको वेला विमान बेपत्ता भएको हो । स्थानीय समयअनुसार सोमबार दिउसो २ः३८ बजे विमान बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।




