काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।
एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन प्रहरी प्रधान कार्यालय, नक्सालले आह्वान गरेको थियो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएको हो ।
सबैभन्दै बढी आवेदन मधेस प्रदेशमा दिएका छन् । प्रदेश नं. १ मा ५० हजार ९४४, बागमतीमा २७ हजार ८३४, उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको प्रवक्ता केसीको भनाई छ ।
म्यादी प्रहरी छनौटका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । २०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउने म्यादी प्रहरी भर्ना मापदण्डमा उल्लेख छ ।
नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।
मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ४० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म हुनसक्छ ।




