काठमाडौं । पृथ्वी राजमार्गमा शनिबार यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बसमा सवारमध्ये ३८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। सामान्य घाइते २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यहाँ उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर छ । पाँच जनालाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएकोमा दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीले बताए । बस सडकमै पल्टिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले सुचारू भएको छ।




