काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेको एक महिना बितेको छ । यसैबीच, रुसी सेनाले शुक्रबार युक्रेनमा आफ्नो विशेष सैन्य अभियानको पहिलो चरण सकिएको बताएको छ । रुसी सेनाले अब पूर्वी डोनबास क्षेत्रको स्वतन्त्रतामा ध्यान केन्द्रित गर्ने बताएको छ ।
यस क्षेत्रमा आठ वर्षदेखि रुसी समर्थित पृथकतावादीहरू स्वतन्त्रताको लागि लडिरहेका छन् । रुसी सेनाका जनरल स्टाफका वरिष्ठ प्रतिनिधि सर्गेई रुडस्कोईले मुख्य लक्ष्य, डोनबासको स्वतन्त्रतामा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
शुक्रबार गरिएको घोषणाले युद्धको पहिलो महिनामा तीव्र आक्रमण गरेपछि रुसले अब सीमित लक्ष्यमा जान सक्ने संकेत गरेको छ । रुसले युद्धको शुरुवातमा डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको थियो ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार रुसी सैन्य कारबाहीको बारेमा नक्कली सूचना प्रकाशित गरेकोमा सजाय दिने कानुनमा हस्ताक्षर गरेका छन् । झुटा समाचार फैलाएमा १५ वर्षसम्म कैद सजाय हुनेछ ।
रूसी सरकारी एजेन्सीहरूको तर्फबाट जानीजानी गलत जानकारी प्रकाशित गर्नेहरूलाई जेल सजाय र जरिवानाको प्रावधान छ ।
युक्रेनमा रुसले हालसम्म १३५१ सैनिकले ज्यान गुमाएको जनाएको छ । तर युक्रेनले भने अहिलेसम्म १६ हजार भन्दा बढी रुसी सैनिकले ज्यान गुमाएको दाबी गरिरहेको छ । त्यस्तै अमेरिकाले पनि युक्रेनमा रुसका कम्तिमा पनि १० हजार सेनाले ज्यान गुमाएको दाबि गरेको छ ।




