काठमाडौँ । रुस र युक्रेनबीच जारी युद्धको असर दुवै देशमा देखिएको छ । युक्रेनमा मानिसहरु आफ्नो ज्यान जोगाउन देश छाडिरहेका छन् भने रुसमा प्रतिबन्धका कारण मुद्रास्फीति ह्वात्तै बढेको छ । रुसमा चिनीको मूल्य ३१ प्रतिशत सम्मले बढेको छ । धेरै पसलमा चिनी खरिदको सीमा तोकिएको छ ।
एउटा सुपरमार्केटमा चिनी किन्नेहरुको भिड बढेको सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा देखिएको छ । यहाँ चिनीका लागि मानिसहरुबीच झगडा र हानाहान भएको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सपिङ कार्टबाट चिनी संकलन गर्न मानिसहरु धकेला धकेल गरेको देख्न सकिन्छ । धेरै उपभोक्ताहरूले देशमा यो अवस्था सिर्जना भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिइरहेका छन् ।
युक्रेनमा भएको आक्रमणपछि धेरै देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् । जसका कारण रुसका धेरै पसलहरूमा प्रत्येक ग्राहकले १० किलो चिनी मात्र किन्न पाउने सीमा तोकिएको छ । जसका कारण यस्ता घटना बाहिर आउन थालेको जनाइएको छ ।
केही सञ्चार माध्यमले रुसमा दुई सातादेखि चिनीको अभाव भएको दाबी गरेका छन् । तर, सरकारले मुलुकमा चिनीको अभाव नभएको बताएको छ । कतिपय व्यापारीले जम्मा गरेर राखेका छन् । रुसले पनि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।
मिडिया रिपोर्टका अनुसार विश्वभरबाट लगाइएको प्रतिबन्धका कारण रुसमा चिनी ३१ प्रतिशत महँगो भएको छ । अन्य धेरै उत्पादनहरू पनि बढ्दो रूपमा महँगो हुँदैछन्। देशमा अन्य मुलुकबाट आयात हुने कार, घरायसी सामान र टेलिभिजनका सामग्री निकै महँगो भएका छन् । मूल्यवृद्धि रोक्न सरकार अहिलेसम्म असफल भएको छ । मुलुकमा मुद्रास्फीति ७ वर्षयताकै उच्च भएको छ ।




