काठमाडौं । पोल्याण्डले रुसका ४५ जना कूटनीतिज्ञलाई देश निकालाको तयारी गरेको छ । कूटनीतिज्ञको आवरणमा रुसको गुप्तचर एजेन्सीका लागि काम गरेको आशंकामा पोल्याण्डले रुसका ती कूटनीतिज्ञलाई देश निकाला गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘कूटनीतिक हैसियतमा पोल्याण्डमा काम गरिरहेका रुसी गुप्तचर सेवाका ४५ अधिकारी लगायत अन्य व्यक्तिको पहिचान गरेको छ । ती व्यक्तिले पोल्याण्ड र हाम्रा समर्थक मुलुकका विरुद्ध जासुसी गरेको भेटिएको छ’ पोल्याण्डको विदेश मन्त्रालयलका प्रवक्ता स्ट्यानिस्ल जरिनले रोयटर्ससँग भनेका छन् । पोल्याण्डको खुफिया निकाय इन्टरनल सेक्युरिटी एजेन्सीले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको भेटिएका कूटनीतिज्ञको सूची त्यहाँको विदेशमन्त्रालयलाई बुझाइसकेको प्रवक्ताले उल्लेख गरेका छन् ।
ती ४५ कूटनीतिज्ञमाथि हुने कारबाहीबारे जानकारी दिनका लागि पोल्याण्डस्थित रुसी राजदूतलाई विदेशमन्त्रालयले बोलाएको पोल्याण्ड सरकारका अर्का एक प्रवक्ताले बताएका छन् ।
यसैबीच पोल्याण्डले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरे त्यसको जवाफ दिने तयारी रुसले गरिरहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेन संकट चलिरहँदा रुस र पोल्याण्डबीचको सम्बन्ध पनि चिसिएको छ । पोल्याण्ड अमेरिकाको रणनीतिक साझेदार मुलुक हो । सन् १९९९ देखि पोल्याण्ड अमेरिकी खेमाको उत्तर एटलान्टिन सन्धि संगठन (नेटो) को सदस्य छ ।
युक्रेनले नेटोको सदस्यता लिने कोसिश गरेपछि रुसले युक्रेनमाथि सैनिक आक्रमण थालेको एक महिना पुग्न लागेको छ । अमेरिका लगायत मुलुक रुसविरुद्ध उत्रिएका छन् । रुसलाई चीन र भारत लगायत मुलुकको साथ छ ।




