खेलकुद

विश्व नम्बर १ बार्टीको टेनिसबाट सन्यास

काठमाडौँ । विश्व नम्बर १ एस्ले बार्टीले टेनिसबाट सन्यास लिएकी छन् । पछिल्लो तीन वर्षमा तीनवटा प्रमुख एकल उपाधि जितेपछि खेलबाट सन्यासको घोषणा गरेर टेनिस जगतलाई चकित पारेकी छिन् ।


२५ वर्षीय अस्ट्रेलियाली खेलाडी बार्टीले भनेकी छन्- ‘आज मेरो लागि कठिन र भावनाले भरिएको छ किनकि मैले टेनिसबाट सन्यासको घोषणा गरेको छु ।’ उनले अगाडी भनेकी छन्- ‘यस खेलले मलाई दिएको सबै कुराको लागि म धेरै आभारी छु । मलाई मेरो यस यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, हामीले सँगै सृजना गरेका जीवनभरका सम्झनाहरूका लागि म सधैं आभारी रहनेछु ।’

बार्टीले आफ्नो सन्यासको निर्णयलाई थप व्याख्या गर्दै भनेकी छन्- ‘मेरो करियरको दोस्रो चरणमा ममा एउटा दृष्टिकोण परिवर्तन भएको थियो, कि मेरो खुशी नतिजामा निर्भर थिएन, र मेरो लागि सफलता भनेको मैले आफूले सक्ने सबै कुरा दिएकी छु भन्ने थियो । मलाई थाहा छ आफैंबाट सबै भन्दा राम्रो नतिजा ल्याउन कत्ति मिहिनेत गर्नुपर्छ । त्यसका लागि मसँग भावनात्मक भएपनि शारीरिक ड्राइभ छैन । मलाई शारीरिक रूपमा थाहा छ, मसँग दिनको लागि अरू केही छैन ।’

उनले यो निर्णय गाह्रो भएको बताउदै यहि नै सहि निर्णय भएको उल्लेख गरेकी छन् ।

बार्टीले २०१९ फ्रेन्च ओपन, २०२१ विम्बल्डन र २०२२ अस्ट्रेलियन ओपन गरी तीनवटा प्रमुख एकल उपाधि जितेका छन् । उनले डब्लुटिए टुरमा १५ एकल र १२ डबल्स उपाधि जितेकी छिन् । उनी १९७८ पछि अस्ट्रेलियन ओपन एकल उपाधि जित्ने पहिलो अष्ट्रेलियन थिइन् ।

उनी सन् २००८ मा सन्यास लिने जस्टिन हेनिनलाई पछि पार्दै शीर्ष स्थानमा रहेको बेला सन्यास लिने दोस्रो महिला खेलाडी हुन् ।

२०१० मा आफ्नो व्यावसायिक टेनिस करियर सुरु गरेकी बार्टीले २०१४ देखि २०१६ सम्म खेलबाट ब्रेक लिएकी थिइन् । उनी २०१७ मा पूर्ण-समय टेनिसमा फर्किइन् र आफ्नो अन्तिम २६ खेलहरू मध्ये २५ खेल जितेर खेलमा प्रभुत्व जमाउन सफल भएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *