समाचार

रामपुर नगरपालिकाले नयाँ भवनबाट दिन थाल्यो सेवा

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले नयाँ भवनबाट सेवा सञ्चालन गरेको छ । यसअघि भवन अभावमा मालपोत तथा नापी कार्यालयको भवनबाट सेवा दिँदै आएको नगरपालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरेको हो ।

नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको हो । कूल पाँच करोड ८७ लाख ३७ हजारको लागतमा चारतले भवन निर्माण गरिएको हो । सो भवन २०७४ असार ३० गते सम्झौता भई २०७६ असार ३० मा सम्पन्न गर्नुपर्ने भए पनि रकम अभाव र कोरोना सङ्क्रमका कारण भवन निर्माणमा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिए ।

निर्माण समय थप गरी २०७८ असार ३० गते भवन निर्माण सम्पन्न भएपछि हाल यसबाटै सेवा प्रवाह भइरहेको छ । आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले सोबाहेक सबै शाखा यही ३५ कोठे भवनबाट सञ्चालन भएको छ । नयाँ भवन बनेपछि कर्मचारीलाई सेवा दिन र नागरिकलाई सेवा लिन सहज भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *