काठमाडौं । अमेरिकी रक्षा अधिकारीले युक्रेनमा आक्रमण गरिरहेको रुसको लड्ने क्षमता आक्रमणपूर्वको अवस्थाको तुलनामा ९० प्रतिशत भन्दा धेरैले घटेको दाबी गरेका छन् ।
युक्रेनमा रुसले आक्रमण शुरु गरेको एक महिना बितिसकेको अवस्थामा अमेरिकी रक्षा अधिकारीले यस्तो बताएका हुन् । आफ्नो नाम नबताउने शर्तमा अभिव्यक्ति दिएका उनले यसको प्रमाण भने पेश गरेका छैनन् । यद्यपि यो लडाइँमा रुसले आफ्नो थुप्रै सैन्य हतियार र सैनिकहरु गुमाएको दाबी गरेका छन् ।
रुसले युक्रेनमा आक्रमण शुरु गर्नुभन्दा अगाडि एक लाख ५० हजारभन्दा धेरै सैनिकलाई तयार पारेको थियो । त्यसका साथै उल्लेख्य लडाकु विमान, हवाई हतियार, सैन्य ट्यांक र अन्य हतियार पनि तयारी अवस्थामा राखेको थियो ।
त्यसका बाबजुद आक्रमण शुरु गरेको एक महिना बितिसक्दा पनि उसले युक्रेनको कुनै पनि महत्वपूर्ण शहरमा आफ्नो नियन्त्रण हासिल गर्न सकेको छैन । युक्रेनको सेनाले रुसी आक्रमणको सशक्त प्रतिकार गरिरहेको छ । त्यसैले अहिले रुसले हवाई आक्रमण, मिसाइल आक्रमण र बमबारी गर्ने कार्यलाई बढाएको छ । यद्यपि उसले आम नागरिकमाथि आक्रमण गरेको समाचारको भने खण्डन गरेको छ ।
रुसले गरेको अधिकांश बमबारी दक्षिणपूर्वी शहर मारिउपोलमा केन्द्रित छ । रुसले मार्च २ यता युक्रेनमा मारिएका रुसी सैनिकको विवरण उपलब्ध गराएको छैन । यद्यपि मंगलबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा मारिएका रुसी सैनिकको संख्या हजारभन्दा धेरै रहेको उल्लेख गरेका छन् । यद्यपि उनले यकिन तथ्यांक भने सार्वजनिक गरेका छैनन् । युक्रेनमा रुसले गरेको आक्रमणपछि अहिलेसम्म ३५ लाखभन्दा धेरै मानिस विस्थापित भइसकेका छन् ।




