काठमाडौँ । पपुवा न्यूगिनीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाललाई १७४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको हो ।
पपुवा न्यूगिनीका लागि कप्तान असाद भालाले सर्बाधिक ४५ रन बनाए भने लेगा सिआकाले २० रन बनाए । त्यस्तै सेसे बाउले १९, नोरमान भानुआले १८, चार्लेज अमिनीले १३ रनको योगदान दिए । त्यसैगरी चाद सोपरले अविजित २२ र काबुआ मोरियाले अविजित १७ रन बनाए ।
त्यसैगरी नेपाली बलर सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, आरिफ सेख, दिपेन्द्र सिंह ऐरी र पवन सराफले एक एक विकेट लिए ।
नेपालले यस सिरिजमा खेलेका तीन खेलमा एक खेलमा जित हासिल गरेको छ भने दुई खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै हराएको थियो भने त्यसपछि खेलेका युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको छ ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अहिलेसम्म ११ खेलमा ५ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ । नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ । त्यसैगरी ओमानले २८ खेलमा १७ खेलमा जित तथा ९ खेलमा हार बेहोर्दै ३६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ ।
त्यस्तै युएई १८ खेलमा १० जित र ६ हार तथा एक खेलमा अंक बाड्दै २२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार तथा २ खेलमा अंक बाड्दै १६ अङ्कका साथ तेस्रो स्थानमा छ भने नामिबिया १४ खेलमा ७ जित र ७ हारका साथ १४ अंकका साथ चौथो स्थानमा रहेको छ । त्यस्तै अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित १४ अंकसहित पाँचौ स्थानमा रहेको छ । त्यसैगरी पपुवा न्युगिनी १५ खेलमा एक जित र १४ खेलमा हार बेहोरेर अंक तालिकामा २ अंकसहित पुछारमा रहेको छ । पिएनजीले यसै सिरिजमा शनिबार सम्पन्न खेलमा युएईलाई पराजित गरेको थियो ।
सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।




