समाचार

नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र पलाउ गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७४ पुगेको छ ।
     
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि पलाउ गणतन्त्रका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेइडले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा यससम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्। सोमबार दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गरे ।
     
सो अवसरमा दुई देशका राजदूतले राष्ट्रिय तथा बहुपक्षीय विशेषगरी संयुक्त राष्ट्र संघका मञ्चहरूमा दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन् ।
     
पलाउ गणतन्त्र फिलिपिन्सको दक्षिणपूर्वमा प्रशान्त महासागरमा अवस्थित एउटा देश हो, जसको क्षेत्रफल ४५९ वर्ग किलोमिटर र जनसंख्या २२,००० छ ।

यो १ अक्टोबर १९९४ मा एक सार्वभौम राज्य भयो। पहिले, यो संयुक्त राष्ट्र संघ ट्रस्ट टेरिटोरी अफ द प्यासिफिक टापुहरूको एक हिस्सा थियो, जुन दोस्रो विश्व युद्ध पछि १९४७ देखि संयुक्त राज्य अमेरिका द्वारा प्रशासित भएकाे थियो ।
     
पलाउ १५ डिसेम्बर १९९४ मा १८५ औं सदस्य राष्ट्रको रूपमा संयुक्त राष्ट्र संघमा सामेल भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *