काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस जितेको छ । दुबई क्रिकेट रंगशालामा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आजको खेलमा युवा ब्याटर भीम सार्कीले नेपाली टोलीमा डेब्यू पाएका छन् । पछिल्लोसमय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका भीमले अन्तर्राष्ट्रिय ओडिआईमा पनि मौका पाएका हुन् । तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई भने आज बेन्चमा राखिएको छ ।
नेपाल पीएनजीविरुद्ध सहज जितको खोजीमा छ भने पीएनजी पनि यूएई सिरिजको अन्तिम खेलमा जित निकाल्ने दाउमा छ । यूएई सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीमाथि २ विकेटको जित निकालेको थियो भने दोस्रो र तेस्रो खेलमा परािजत भएको छ । खराव ब्याटिङ प्रदर्शनका कारण नेपालले यूएईसँगको दुई खेल नै गुमाएको थियो ।
तर, पीएनजीले सुरुआती दुई खेलमा हार व्यहोरे पनि तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै यूएईमाथि जित हासिल गरेको थियो, जुन पीएनजीको लिगकै पहिलो जित हो । त्यसकारण पनि पीएनजी उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
नेपाली टाेलीः-
सन्दीप लामिछाने (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल र सोमपाल कामी ।




