काठमाडौं । युक्रेनसँग राष्ट्रपतिस्तरको वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले बताएको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले गर्नु हतार हुने बताए ।
केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताएका पेस्कोभले तर अहिले नभई अलि ढिला मात्रै दुई मुलुकका राष्ट्रपतिबीच वार्ता हुन सक्ने बताएका हुन् । उनीहरुबीच वार्ता हुने गरी कुनै घटनाक्रम विकास भएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उनको भनाइ छ ।
‘दुई देशका राष्ट्रपतिका बीचमा शान्ति वार्ता हुनका लागि अहिले पृष्ठभूमि तयार भइसकेको छैन’, प्रवक्ता पेस्कोभले भने । शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने उल्लेख गर्दै उनले ती केही पनि नभएको उल्लेख गरे ।
वार्तामा के-के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत नदेखिएकाले अहिले नै वार्ता गर्नु सान्दर्भिक नहुने उनको भनाइ छ । गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक-पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । विश्व समुदायले पनि दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन् ।




