खेलकुद

विश्वकप लिग–२: नेपालले आज पपुवा न्युगिनीको सामना गर्दै

काठमाडौँ । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गतको अन्तिम खेलमा आज पपुवा न्युगिनीको सामना गर्दै छ । खेल नेपाल इसम्य अनुसार विहान सवा ११ बजेदेखि शुरु हुदै छ ।

नेपालले यस सिरिजमा खेलेका तीन खेलमा एक खेलमा जित हासिल गरेको छ भने दुई खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै हराएको थियो भने त्यसपछि खेलेका युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अहिलेसम्म ११ खेलमा ५ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ । नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ । त्यसैगरी ओमानले २८ खेलमा १७ खेलमा जित तथा ९ खेलमा हार बेहोर्दै ३६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै युएई १८ खेलमा १० जित र ६ हार तथा एक खेलमा अंक बाड्दै २२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार तथा २ खेलमा अंक बाड्दै १६ अङ्कका साथ तेस्रो स्थानमा छ भने नामिबिया १४ खेलमा ७ जित र ७ हारका साथ १४ अंकका साथ चौथो स्थानमा रहेको छ । त्यस्तै अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित १४ अंकसहित पाँचौ स्थानमा रहेको छ । त्यसैगरी पपुवा न्युगिनी १५ खेलमा एक जित र १४ खेलमा हार बेहोरेर अंक तालिकामा २ अंकसहित पुछारमा रहेको छ । पिएनजीले यसै सिरिजमा शनिबार सम्पन्न खेलमा युएईलाई पराजित गरेको थियो ।

सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

त्रिकोणात्मक सिरिजका लागि कप्तान सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय टिम युएई पुगेको छ । जसमा खेलाडीहरुमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, बिनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, भीम सार्की र बिक्रम सोब रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *