खेलकुद

युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनाएको हो ।

युएईका लागि रोहण मुस्तफाले सर्बाधिक ६० रन बनाए भनेमुहमद वासीमले ३३, चिराग सुरीले २६, व्रित्य अरविन्दले २४, बसिल हमीदले १७ रन बनाएका थिए । त्यस्तै आलिशान शार्फुले २१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र करण केसीले २-२ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ सेखले एक एक विकेट लिएका छन् ।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्यू गिनीमाथि जित निकाल्दै सिरिजमा सुखद शुरुवात गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो ।

त्यस्तै नेपालले सिरिजको चौथो खेल पपुवा न्युगिनिसँग चैत ८ गते खेल्ने तालिका रहेको छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अहिलेसम्म १० खेलमा ५ खेलमा विजयी भएको छ भने ५ खेलमा पराजित भएको छ ।

नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ । त्यसैगरी ओमानले २८ खेलमा १७ खेलमा जित तथा ९ खेलमा हार बेहोर्दै ३६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै युएई १७ खेलमा ९ जित र ६ हार तथा एक खेलमा अंक बाड्दै २० अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार तथा २ खेलमा अंक बाड्दै १६ अङ्कका साथ तेस्रो स्थानमा छ भने नामिबिया १४ खेलमा ७ जित र ७ हारका साथ १४ अंकका साथ चौथो स्थानमा रहेको छ । त्यस्तै अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित १४ अंकसहित पाँचौ स्थानमा रहेको छ । त्यसैगरी पपुवा न्युगिनी १५ खेलमा एक जित र १४ खेलमा हार बेहोरेर अंक तालिकामा २ अंकसहित पुछारमा रहेको छ । पिएनजीले यसै सिरिजमा शनिबार सम्पन्न खेलमा युएईलाई पराजित गरेको थियो ।

सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *