काठमाडौँ । चाइना इस्टर्न बोइङ ७३७ बोइङ दूर्घटन भएको छ । १३३ यात्रु बोकेको विमान दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको पहाडमा दुर्घटनामा परेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
दुर्घटनामा यात्रुको अवस्था बारे स्पष्ट नभएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले उल्लेख गरेको छ । एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङसुई विमानस्थलबाट सोमबार स्थानीय समय अनुसार १३:१५ मा उडेको थियो र १५:०७ मा दक्षिण चीनको गुआङ्डोङ प्रान्तको ग्वान्झाउमा पुग्ने तालिका रहेको थियो ।
सामाजिक सञ्जालमा विमान जलिरहेको भिडियो देख्न सकिन्छ । सिन्ह्वाका अनुसार हाल उद्धार टोलीहरू दुर्घटनास्थलमा पुगेका छन् ।
उक्त विमान चाइना इस्टर्न एयरलाइन्सको युनान सहायक कम्पनी बोइङ ७३७ हो र यो साढे छ वर्षदेखि सञ्चालनमा रहेको बताइएको छ ।




