काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार पोल्याण्ड जाने भएका छन् । ह्वाइट हाउसले राष्ट्रपति बाइडेन नेटो र ईयूका सहयोगीहरूसँग भेट गरेपछि शुक्रबार पोल्याण्डको भ्रमण गर्ने जानकारी दिएको छ ।
युक्रेनमा जारी युद्धको मानवीय प्रतिक्रियाबारे छलफल गर्न बाइडेनले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासँग वार्सामा भेट गर्ने बताइएको छ ।
ह्वाइट हाउसले एक विज्ञप्ति मार्फत भनेको छ- ‘राष्ट्रपति बाइडेनले रुसको आक्रमणका कारण युक्रेनमा भएको मानवीय र मानवअधिकार सङ्कटलाई अमेरिकाले आफ्ना सहयोगी र साझेदारहरूसँग कसरी काम गरिरहेका छन् भन्ने बारे छलफल गर्नेछन् ।’
त्यस्तै त्यसअघि सोमबार बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोन-वार्ता गर्दै छन् ।
त्यस्तै बुधबार, बाइडेडेनले नेटो र युरोपेली परिषद्को शिखर सम्मेलनमा भाग लिन ब्रसेल्सको यात्रा गर्दैछन् । यससँगै उनले जी-७ को बैठक पनि गर्नेछन् ।
ह्वाइट हाउसका प्रवक्ताले बाइडेनले आफ्नो भ्रमणका क्रममा युक्रेन भ्रमण गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।




