राजनीति

कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ: शेखर कोइराला

मोरङ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै जाने विषयमा कांग्रेस मझधारमा रहेको बताएका छन् ।

मोरङको सुन्दरहैंचामा आइतबार आयोजित एक कार्यक्रममा कोइरालाले स्थानीय तहको निर्वाचनमा कम्युनिस्टसँग गठबन्धन गरेर जान खोजेको कांग्रेसलाई कम्युनिस्टले भोट दिने निश्चित नभएकाले मझधारमा फसेको बताएका हुन् ।

‘कम्युनिस्ट क्याडर बेस्ड र कांग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहजता उत्पन्न भएको छ,’ उनले भने, ‘कांग्रेसले डेमोक्रेटिक पार्टीसँग मात्रै गठबन्धन गरेर निर्वाचनमा जाँदा फाइदा हुन्छ र कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिन्छ किनकी भोट त पाउँदैनन् ।’

निर्वाचनमा कम्युनिस्टसँग कांग्रेसको गठबन्धनको औचित्य नभएको कोइरालाको भनाइ थियो । तर पार्टीले गठबन्धनको जिम्मा स्थानीय तहमा छोडिदिनुपर्ने कोइरालाको तर्क थियो । उनले कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्नुको सट्टा पार्टीभित्रको गुट-उपगुट समाप्त गरी आन्तरिक रुपमा गठबन्धन हुनुपर्ने सुझाव दिएका थिए ।

‘कांग्रेसले निर्वाचन जित्नका लागि अन्य पार्टीसँगको गठबन्धन भन्दा पनि आफूभित्रै गठबन्धन हुनु आवश्यक छ,’ उनले भने, ‘पार्टीभित्रको गुट र उपगुट समाप्त गरी एकजुट भएर निर्वाचनमा गए जितका लागि त्यो भन्दा ठूलो गठबन्धन अरु केही पनि हुँदैन ।’ उनले सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेता तथा कार्यकर्तालाई विभेद गरेर अघि बढ्न खोजे पार्टीलाई घात हुने बताएका थिए । यस विषयमा पार्टी नेतृत्व गम्भीर बन्नु आवश्यक रहेको कोइरालाको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *