काठमाडौं । आजदेखि सिंहदरबार परिसरभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेश द्वार सँगै साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रहेको भवनबाट हेल्थ डेस्क सेवा शुरु भएको छ ।
डेस्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका दुई चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुने जनाइएको छ । हेल्थ डेस्कमा अक्सिजनसहित वेड, स्वास्थ्य परीक्षण, ब्लड प्रेसर, सुगर, ड्रेसिङ्ग लगायत जाँच गरिने अस्पतालले जनाएको छ ।
नेपाल सरकारका मुख्यसचिव शंकर दास बैरागी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा भुपेन्द्र बस्नेतले सिंहदरबारभित्रको हेल्थ डेस्क उद्घाटन गरेका छन्।
सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौ सेवाग्राही पुग्ने प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा वीर अस्पतालले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।
सिंहदरबार हेल्थ डेस्कका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीकाअनुसार प्रधानमन्त्री कार्यालयको निर्माणकार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुइँ तल्लामा सुविधा सम्पन्न हेल्थ डेक्स र एम्बुलेन्स सहित सञ्चालन गरिने तयारी गरिएको छ । यसअघि २०७४ सालमा स्थापना गरिएको हेल्थ डेक्स कोरोना महामारीका कारण बन्द भएको थियो ।




