काठमाडौँ । भारतको पञ्जाब राज्यमा अत्यधिक बहुमतका साथ सत्तामा आएको आम आदमी पार्टीको सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा राज्यमा २५ हजारलाई रोजगारी दिने निर्णय गरको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार राज्य सरकारले पञ्जाब पुलिसमा १० हजार नयाँ भर्ती गर्ने छ भने अन्य सरकारी विभागहरूमा १५ हजारलाई नोकरी दिने भएको छ ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पहिलो मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरेको जानकारी दिएका छन् ।
उनले सबै काम डिग्रीको आधारमा दिइने र यसमा कुनै सिफारिस वा घूसले काम नगर्ने बताएका छन् । एक महिनाभित्र यसको विज्ञापन र सूचना जारी हुने उनले बताए ।
भगवन्त मानले भने- ‘निर्वाचनमा हामीले पहिलो मन्त्रिपरिषद् बैठकमा प्रदेश सरकारमा भएका भर्ना हटाउने निर्णय गर्ने वाचा गरेका थियौं ।’
उनले राज्यमा बेरोजगारीको अवस्था सिर्जना भएको बताए । त्यसैले यहाँका युवाहरु पलायन भइरहेका छन् ।
पञ्जाबमा चुनावी अभियानका क्रममा आम आदमी पार्टीले राज्यमा युवाहरूलाई ठूलो मात्रामा रोजगारी दिने वाचा गरेको थियो ।
मानले आफ्नो मन्त्रिपरिषद्मा १० जनालाई मन्त्री बनाएका छन् । उनीहरु सबैले शनिबार नै शपथ लिएका छन् । तीन दिनअघि शहीद भगत सिंहको गाउँमा भगवन्त मानले मुख्यमन्त्रीको सपथ लिएका थिए ।




