बैतडी ।सुदूरपश्चिम प्रदेशमा हाल संक्रमणदर ओरालो लाग्दै गएको छ। भारतसँग सीमा जोडिएको यो प्रदेशमा कोरोनाका सङ्क्रमितको संख्या न्यून रहेको हो।
यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा संक्रमितको संख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अन्य दिनमा पनि संक्रमितको संख्या पाँचभन्दा पनि कम रहेको छ। हप्ताको दोस्रो दिन सोमबार पाँचजनामा, मंगलबार र बुधबार एक/एकजनामा, बिहीबार दुईजनामा संक्रमण पुष्टि भएको थियो।
हाल संक्रमणदर निकै कम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। उनले भने, ‘विश्वव्यापी रूपमा कोरोना संक्रमण घटेको छ। छिमेकी राष्ट्र भारतमा पनि संक्रमणदर न्यून छ, त्यसकै प्रभाव सुदूरपश्चिममा पनि हो।’
हाल संक्रमणदर घटे पनि जोखिम भने कायमै रहेको जोशीले बताए। अन्तरराष्ट्रिय स्वास्थ्य नियमावली २००५ अनुसार सीमा नाकामा परीक्षण कार्य जारी राखिएको जनाइएको छ।
सीमा नाकामा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण भइरहेको छ। उनले भने, ‘अहिले न्यून मात्रामा संक्रमण देखिए पनि सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ।’ पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो ।
प्रदेशका तीन जिल्ला संक्रमणमुक्त
कोरोना संक्रमणदर ओरालो लागेसँगै सुदूरपश्चिमका तीन जिल्ला संक्रमण शून्य जिल्ला रहेका छन्। नौ जिल्ला रहेका यस प्रदेशका डोटी, अछाम र बाजुरामा हाल एकजना पनि कोरोनाका सक्रिय संक्रमित नरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
प्रदेशका ७ जिल्लामा जम्मा ४० जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी कैलालीमा २५, कञ्चनपुरमा ९, बैतडीमा ३, दार्चुला, डडेल्धुरा र बझाङमा एक÷एकजना मात्रै सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये दुईजनाको सेती प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ भने अरू सबै होम आइसोलेसन रहेका छन्।
संक्रमणकै कारण यस प्रदेशमा हालसम्म ६३३ जनाको मृत्यु भइसकेको छ।
संक्रमणदर कम भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ।
यसका साथै कोभिड–१९ सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ। प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेको छ। पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा र ६ महिनापछि बुस्टर डोज दिन लागिएको हो। यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ।




