काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच शुक्रबार फोन वार्ता हुने भएको छ ।
चिनियाँ विदेश मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वार्ताको क्रममा उनीहरुको बीचमा अमेरिका-चीन सम्बन्ध र अन्य सामान्य चासोका विषयमा कुराकानी हुनेछ । यद्यपि पश्चिमा मुलुकले भने अहिले रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा पनि उनीहरुको बीचमा वार्ता हुन सक्ने बताएका छन् ।
चिनियाँ राष्ट्रपतिले रुसी समकक्षीलाई युक्रेनमाथिको आक्रमण रोक्न मनाउन सक्छन् भन्ने पश्चिमा मुलुकको बुझाइ छ । यद्यपि चीनले भने अहिलेसम्म रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा समेत गरेको छैन । यद्यपि उसले यो संकटलाई शान्तिपूणर् तरिकाले सुल्झाउनु पर्ने बताउँदै आएको छ ।
अमेरिकाले भने चीनले रुसलाई सैन्य सहयोग गर्न सक्ने भन्दै आशंका व्यक्त गर्दै आएको छ । चीन र रुसले भने अमेरिकाको आरोप निराधार रहेको भन्दै त्यसको खण्डन गरेका छन् ।




