काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा नेपालले टस हारेको छ । युएईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।
नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्यू गिनीमाथि जित निकाल्दै सिरिजमा सुखद शुरुवात गरेको छ ।
यस सिरिजमा नेपालले तेस्रो खेल युएईविरुद्ध चैत ७ गते खेल्नेछ भने चौथो खेल पपुवा न्युगिनिसँग चैत ८ गते खेल्ने तालिका रहेको छ ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अहिलेसम्म ९ खेलमा ५ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ ।
नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ । त्यसैगरी ओमानले २८ खेलमा १७ खेलमा जित तथा ९ खेलमा हार बेहोर्दै ३६ अंक जोडेको छ । ओमन अंक तालिकाको शीर्ष स्थानमा छ ।
त्यस्तै युएई १५ खेलमा ८ जित र ५ हार तथा एक खेलमा अंक बाड्दै १८ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार तथा २ खेलमा अंक बाड्दै १६ अङ्कका साथ तेस्रो स्थानमा छ भने नामिबिया १४ खेलमा ७ जित र ७ हारका साथ १४ अंकका साथ चौथो स्थानमा रहेको छ । त्यस्तै अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित १४ अंकसहित पाँचौ स्थानमा रहेको छ । त्यसैगरी पपुवा न्युगिनी १४ खेलमा सबै खेलमा हार बेहोरेर अंक तालिकामा पुछारमा रहेको छ ।
सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।




