काठमाडौँ । रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको बेला पोल्याण्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्रीहरू रेलमा कीभ पुगेका छन् ।
पोल्याण्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्रीहरू युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभ जादै गरेको बिबिसीले उल्लेख गरेको छ ।
उनीहरु चढेको रेल पोल्याण्ड-युक्रेनी सीमा पार गरी कीभ तर्फ गइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कीभमा अहिले पनि रुसी बमबारी अझै जारी छ । तीनवटै प्रधानमन्त्री युरोपेली संघका प्रतिनिधिका रूपमा यस वार्तामा जाँदैछन् ।
युकेनी राष्ट्रपति जेलेन्स्कीलाई उनीहरुले रुसको आक्रमणको बिरूद्ध युक्रेनलाई आफ्नो समर्थन दिने बताइएको छ ।
पोल्याण्ड र चेक गणतन्त्रका सरकारहरूले यस बैठकले युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताको लागि ईयूको सहयोगलाई प्रतिबिम्बित गर्ने भन्दै विज्ञप्ति जारी गरेका छन् ।
पोल्याण्डको प्रधानमन्त्री कार्यालयका प्रमुख मिखल डभोर्चिकले हालै सम्पन्न युरोपेली संघको सम्मेलनमा यस राउन्डको निर्णय भएको बताएका छन् ।
ड्भोर्चिकले भनेका छन्- नेटोले युक्रेनमा सैन्य संघर्षमा भाग लिने छैन तर रुसी आक्रमणविरुद्ध युक्रेनलाई मद्दत गर्न सबै कुरा गर्नेछ ।




