समाचार

देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने

दमौली । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ ।देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको छ ।

देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए ।

तनहुँ, चितवन र नवलपुर जोड्ने गरी पुल निर्माण हुनेछ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए ।

त्रिकोणात्मक आकर्षक ढङ्गबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई नै हेर्नका लागि पनि यहाँ पर्यटक आउने क्षेत्र विकास समितिले विश्वास लिएको छ ।
चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रुपमा लिइएको छ ।

देवघाट क्षेत्र विकास समितिका निर्देशक घिमिरेले नवलपरासीतर्फ पुल तरेपछि मौलाकालिकासम्म जानका लागि मौलाकालिका–बेनी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको जानकारी दिए ।
बेनीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३.५ किलोमिटर पैदलयात्रा उकालो उक्लनुपर्ने हुन्छ । सो क्षेत्रमा ८० प्रतिशत काम भइसकेको छ भने बाँकी निर्माणको क्रममा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *