समाचार

स्थानीय चुनावमा कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न।’

राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन साथ र सहयोग पुर्‍याउनुपर्नेमा सुझाव दिँदै अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा रहे पनि पार्टी प्रवेशको लहर चलेको बताए।

आगामी निर्वाचन स्वच्छ र निष्पक्षसाथ सम्पन्न गर्ने दायित्वमा नचुक्न सल्लाह दिँदै उनले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा तलमाथि भएमा सहयोग र साथ दिने वचन दिए।

अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त अवस्थामा पुग्दै गरेको बताउँदै निर्वाचनका माध्यमबाटै पुनः सरकारमा आउने दाबी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *