काठमाडौं । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पाँच करोडसम्म खर्च गर्न पाउनुपर्ने राजनीतिक दलहरुले माग गरेका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे शुक्रबार गरेको छलफलमा दलहरुले यस्तो माग गरेका हुन् । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव केशव झाले अहिले आयोगले प्रस्ताव गरेको खर्चले नपुग्ने भएकाले पालना नहुने आचारसंहिता निर्माण गर्न नहुने बताएका थिए ।
उनले भने, ‘आयोगले निर्धारण गरेको खर्च वैज्ञानिक भएन। यति खर्चले पुग्दै पुग्दैन, आचारसंहित उल्लघन हुन्छ । महानगरपालिका जित्न अहिले पाँच करोड लाग्छ । बरु यही बराबार खर्च गर्न दिउँ न ।’
आयोगले महानगरपालिकाको प्रमुखरउपप्रमुखका लागि ७ लाख, उपमहानगरको प्रमुखरउपप्रमुखका लागि ५ लाख खर्च गर्न पाउने रकमको प्रस्ताव गरेको थियो । त्यस्तै नगरपालिका प्रमुखरउपप्रमुखका लागि ४ लाख ५ हजार, गाउँपालिका प्रमुखरउपप्रमुखका लागि ४ लाखको प्रस्ताव गरेको थियो। त्यस्तै महानगरको वडाअध्यक्षलाई ३ लाख , उपमहानगरको वडाअध्यक्षलाई साढे २ लाख नगरपालिकाको वडाअध्यक्षलाई २ लाख र गाउँपालिकाको बडाअध्यक्षलाई डेढ लाख खर्च गर्न पाउने प्रस्ताव आयोगले गरेको थियो ।
त्यस्तै साना दलहरुले आफ्नो दलको चिन्ह मतपत्रमा नराखेको भन्दै विरोध जनाए । ठूला दल र साना दलबीच विभेद भएकाले विरोध जनाएको राप्रपाका महासचिव भूवन पाठकले बताए ।
उनले भने, ‘हाम्रो आफ्नै चुनाव चिन्ह प्रयोग गर्न पाउनुपर्छ । मंगलबारसम्म पनि यो माग सुनुवाइ भएन भने संयुक्त आन्दोलनमा जान्छौं,’ आयोगका पदाधिकारीसँगको छलफलपछि उनले भने ।




