काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न उच्चस्तरीय समिति (र्यापिड एक्सन टास्क फोर्स) गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निणर्य गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद्को निणर्य सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापन र अविलम्व आवश्यक कार्य प्रारम्भ गर्न र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निणर्य गरेको बताएका हुन् ।
मन्त्रिपरिषद्को निणर्य सुनाउँदै प्रवक्ता कार्कीले भने, ‘बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिबद्धताहरु कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध र क्रियाशील रहेको छ ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन तथा साइट सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभावको मूल्यांकनको आधारमा मानवजीवन, पशुपंक्षी, जीवजन्तु, वनस्पतीमा पर्ने प्रभाव नियोगीकरण गर्न आवश्यक सबै उपाय अवलम्वन गर्दै फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट अविलम्व आवश्यक कार्य प्रारम्भ गर्न र पुहँच सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्वद्ध निकायलाई निर्देशन गरिएको छ ।
यससम्बन्धी कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिहरुसमेत रहेको एक उच्चस्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालाहरु समेत सहभागी एउटा र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निणर्य भएको छ ।’
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको ९ कट्ठा आठ धुर जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृत प्रदान गर्ने निणर्य गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार सरकारले निजामती कर्मचारीका सन्तानलाई शैक्षिक प्रेत्साहन वृत्ति उपलब्ध गराउन निर्देशिका २०७८ गर्ने, औद्योगिक व्यवसाय नियमावली २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद ११ औँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य पनि गरेको छ ।




