काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गर्छ भन्ने कल्पना पनि नगर्न आग्रह गरेका छन्।
तिलगंगास्थित नेपाल पत्रकार महासंघको कार्यालयमा भएको कार्यक्रममा मन्त्री कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्न लागे पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम सरकारले नगर्ने प्रतिवद्धता जाहेर गरे। उनले युट्युबलगायत सामाजिक सञ्जालले आर्थिक क्रियाकलाप गर्ने हुँदा त्यसलाई नियमन मात्रै गर्न खोजेको प्रष्टीकरण दिए।
यस्तै‚ मन्त्री कार्कीले ज्येष्ठ पत्रकारलाई सम्मान स्वरुप मासिक भत्ता दिने व्यवस्था गरेको जानकारी दिए। सूचना विभागले दिने कार्ड अनलाइनबाटै दिइने उनले बताए। मन्त्री कार्कीसमक्ष महासंघले विभिन्न मागसहित सरकारको ध्यानाकर्षण पनि गराएको छ।
मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको छ। संशोधित नियामवलीमा युट्युब र त्यस्तै प्रकृतिका अन्य प्रशारणहरूलाई कानुनी दायरामा ल्याइएको छ। यही नियामवलीलाई लिएर प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ।




