मनाङ । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकमा कल्भर्ट निर्माण तीव्र रुप भइरहेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जानकारी दिएको छ । सडकखण्डको तिमाङ छहराको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि केही समय सडक बन्द गरेको छ ।
नासोँ गाउँपालिका– ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण भइरहेको हो । गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि काठेपुल राखेर यातायात सञ्चालन भएकोमा गत कात्तिकमा आएको बाढीपहिराले काठेपुल बगाएको थियो ।
त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन् ।
सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण भएको हो । निरीक्षणमा विद्युतीकरणका लागि चामे दानाक्यू क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्ने, तिमाङ खोला झरनामा भइरहेको कल्र्भट निर्माण कार्यको स्थलगत निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
काम शीघ्र सम्पन्न गर्न र कुनै सहयोग, समन्वय वा सहजीकरणको खाँचो भए तत्काल सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी आचार्यले आग्रह गरेका छन् । बाढीले रोकिएको विद्युत्को काम, कामदार सङ्ख्या थप गति उनले भनेका छन् ।
कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा, समन्वय तथा नियमित रिपोर्टिङ गर्ने प्रबन्ध मिलाइएको छ । सडकखण्डका जोखिम अवस्थाका दुईवटा रुख हटाइएको छ । सशस्त्र प्रहरी वल नं ३२ गुल्म हेडक्वार्टर चामे मनाङ र पर्वतीय उद्घार शिक्षालय तालिम केन्द्रबाट उपकरणसहित खटिएको टोलीले जोखिमयुक्त अवस्थाका दुवै रूख काटी हटाइएको छ ।
आचार्यले नांसो र चामे गाउँपालिकाको सिमानामा पर्ने तिमाङ खोला झरनाको पहरा अन्तर्गत सडकमाथि दुई रुख सुकेर जोखिमयुक्त अवस्थामा लामो समयदेखि लडेर बसेको अवस्थामा उपकरणसहित खटिएको टोलीले हटाएको बताए ।




