लन्डन । बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएका छन् ।
ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले ब्रिटिश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने- ‘यो आक्रमण युरोपेली सुरक्षा र स्थायित्वका लागि खतरा थियो र हामीले जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आवश्यक छ ।’
रुसी सेनाले युक्रेनको जापोरिझझिया आणविक ऊर्जा केन्द्रमा गोली चलाएपछि आगलागी भएको थियो । आगलागी भए पनि केन्द्रबाट विकिरण भने बाहिर नआएको बताइएको छ । अहिले सो आणविक केन्द्रमा रुसी सेनाको कब्जा रहेको बताइएको छ ।




