काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निणर्यले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको दुई दिने प्रशिक्षक-प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले स्थानीय तहमा गठबन्धन नहुने बताएका हुन् ।
‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन । स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ’, उनले भने ।
उनले आगामी चुनावमा कांग्रेसले भ्रष्टाचारविरुद्धको एजेण्डा अघि सार्नुपर्ने पनि बताए ।
‘स्थानीय तहले विकासलाई गाउँ गाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ । तर सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाचनमा कांग्रेस भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ ।’ उनले विकासको आधार स्थानीय तह भएकाले भ्रष्टाचारविरुद्ध कांग्रेस खरो रूपमा उत्रिन जरुरी रहेको बताए ।




