समाचार

घरमै खानेपानी आउन थालेपछि ऋषिङ गाउँपालिकाका स्थानीयवासी खुसी

तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् ।

ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको रु ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक वनले पनि सहयोग गरेको छ ।

“वर्षौदेखि कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासीको घरमै धारा जडान गर्न सफल भएका छौ,” उनले भने, “पानीको जोहोका लागि गर्नुपर्ने दुःख कष्ट हटेको छ ।” उनका अनुसार घरमा खानेपानी सुविधा नहुँदा स्थानीयवासी बिहानै उठेर घन्टौ हिँडेर खानेपानीको जोहो गर्थे । खानेपानी जोहो गर्न बिहान सबेरै उठेर कुवा जाने स्थानीयवासीलाई घरमै धारा जडान भएपछि सहज भएको उनले बताए ।

घरघरै खानेपानी सुविधा पुगेपछि स्थानीयवासीको जीवनस्तर पनि फेरिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । “खानेपानीको सुविधालाई अव आयआर्जनको बाटोतर्फ जोड्नुपर्छ, करेसाबारीमा तरकारी खेती पनि गर्न सकिन्छ”, उनले भने।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै गाउँमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी रहेका ठाउँमा पनि खानेपानी सुविधा पु¥याइने उनले बताए । “पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई गाउँपालिकाको तर्फबाट पनि प्रोत्साहन गर्छौ,” उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *