समाचार

दृष्टिविहीन अमिटद्वारा पुनः सगरमाथा आरोहणको तयारी

बलेवा । बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन्

एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किएका उनले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थालेका हुन् ।

आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकारी दिए । जैमिनी नगरपालिका–४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभाव परेकाले सहयोगी मनलाई सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।

“अघिल्लोपटक हावाहुरीका कारण बीचमा एक दिन रोकिन नपरेको भए म चुचुरोमा पुग्थेँ, अक्सिजन लिएर ४८ घण्टा बस्नुपर्ने, थप अक्सिजन लिने पैसा थिएन”, उनले भने, “यसपटक ५० हजार डलर खर्च हुन्छ, सहयोग गरिदिन म सबैसँग आग्रह गर्दछु ।” उनले नेपालमा सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बन्न आफू आतुर रहेको बताए ।

केसीले लायन्स क्लब इन्टरनेशनल १०० वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर, चौथो आधार शिविरमा पुगेर अक्सिजन समाप्त भएर फर्किएको सुनाए । उनले भने, “मैले त्यतिबेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरीर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिबेला पनि पुनः आउने भनेको थिएँ । अहिले सगरमाथा चढ्ने तयारी सुरु गर्दैछु ।”

सन् २०२१ मा उद्योग वाणिज्य सङ्घको झण्डा बोकेर आठ हजार मिटरमाथि पुगेका केसीले अक्सिजन र पैसा सकिँदा फर्किनुपरेको गुनासो गरे । मानसिकरुपमा तयारी अवस्थामा भए पनि आर्थिक अभावका कारण यो अभियान सङ्कटमा परेको उनले सुनाए । उनले यो अभियान सफल पार्नका लागि आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *