खेलकुद

एनएसजेएफ खेलकुद पुरस्कार ८ चैतमा

काठमाडौं ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्टस अवार्डको १८औं संस्करण आगामी ८ चैतमा हुने भएको छ। नेपाली खेलकुद पत्रकारको छाता संगठनका रुपमा रहेको मञ्चले हरेक वर्ष खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड वितरण गर्दै आएको छ।

कोभिड १९ महामारीका कारण आयोजना केही ढिला हुन लागेको मञ्चले जानकारी दियो। ‘कोरोना महामारीका कारण खेलकुदका प्रतियोगिताहरू कमै मात्र आयोजना भएका छन्। गत वर्ष कोरोना महामारीकै बीच सबैभन्दा ठूलो अन्तरराष्ट्रिय प्रतियोगिताका रूपमा टोकियो ओलम्पिक जापानमा आयोजना भएको थियो।’

यो पटक अन्तरराष्ट्रिय मञ्चमा खेलकुदका छिटपुट प्रतियोगिताहरू मात्र भएको भन्दै मञ्चका महासचिव प्रज्जवल ओलीले खेलाडीको मनोबल घट्न नदिन अवार्डलाई निरन्तरता दिन लागेको बताए। त्यसका लागि विगतभन्दा फरक तरिकाले अवार्ड आयोजना गर्न लागेको बताए। उनले भने, ‘विभिन्न विधामार्फत खेलाडीहरूले वर्षभर गरेको प्रदर्शनलाई आधार मान्दै अवार्ड प्रदान गर्दै आएका थियौं। तर यो पटक फरक स्वरुपमा प्रतियोगिताको आयोजना गर्न गइरहेका छौं। यो पटक अवार्ड दशक अवार्ड हुने छ। अर्थात हामी इतिहासलाई यो वर्ष सम्झिने छौं।’

वार्षिक अवार्डलाई दशक अवार्डको रुप दिइएसँगै यसपाली सर्वोत्कृष्ट दशक खेलाडी पुरुष र महिला तथा सर्वोत्कृष्ट दशक प्रशिक्षक सम्मानित हुनेछन्। पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एशियन स्पोर्टस जर्नलिस्ट अवार्ड र समर्थकको मतका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्डले भने प्रत्येक वर्षझैँ यसपाली पनि निरन्तरता पाउने छन्। दशक अवार्ड भएका कारण सर्वोकृष्ट युवा खेलाडीको विधा भने यो वर्ष समावेश नगरिएको कार्यक्रममा जानकारी दिइयो।

दशक खेलाडी पुरुष र महिला तथा प्रशिक्षकसँगै पिपल्स च्वाइस अवार्ड विधामा ५/५ खेलाडीको मनोनयन गरिने छ। मनोनीत खेलाडीमध्येबाट विजेताको टुंगो भने कार्यक्रमकै दिन तय गरिने मञ्चले जनाएको छ।

मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट शुरु गरिसकेको पनि जानकारी गराइयो। यसैगरी पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोर्टस जर्नलिस्ट अवार्ड विजेताको पनि कार्यक्रमकै दिन घोषणा गरिने छ। पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिने बताइयो।

दशक खेलाडी पुरुष र महिला तथा प्रशिक्षक र पिपल्स च्वाइस गरी ४ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जानकारी गराएको छ।

प्रायोजन सम्झौतामा हस्ताक्षर

अवार्ड घोषणा कार्यक्रमकै अवसरमा मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि र नेपाल खेलकुद पत्रकार मञ्चबीच सम्झौता पनि भएको छ। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले विगत वर्षका अन्य सबै प्रायोजकहरूसँगको सहकार्य पनि निरन्तर रहने जानकारी दिएका थिए। कोभिड महामारीका कारण गतवर्ष अवार्ड सेमि-भर्चुअल रुपमा सम्पन्न भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *