काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट सोझै प्रधानमन्त्री नियुक्त हुन्छ भनेर बहस गर्ने अधिवक्ताहरुदेखि आफू अचम्मित भएको बताएका छन् । नेकपा एमाले निकट कानुन व्यवसायीहरुको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘वकिल भएर परमादेशको पक्षमा बहस गर्ने संसदबाट होइन, अदालतबाटै सोझै प्रधानमन्त्री नियुक्त हुन्छ भनेर बहस गर्ने अधिवक्ताहरुले पढेको कानून देखेर, उहाँहरुले बुझेको कानून देखेर शरम लाग्छ मलाई, नेपाली भाषामा लेखेको कानून हामी पनि बुझ्छौं, हामी पनि पढ्न सक्छौँ नि त्यो त’ पूर्वप्रधानमन्त्री ओलीले भने ।
उनले अगाडि भने, ‘बारमा हिजो कस्ता–कस्ता मान्छे पुगेका थिए । कस्ता–कस्ता पुग्छन् भन्ने छैन । बारमा पुग्दैमा सबै थोक हुन्छ भन्ने छैन । न्यायालयमा पुग्दैमा न्यायाधीश हुन्छ कि हुँदैन, हामीले देख्यौँ नि ।’
न्यायालय स्वेच्छारी ढंगले चल्न थाल्यो भने लोकतन्त्र के हुन्छ ? भनी प्रश्न गर्दै ओलीले भने, ‘प्रधानमन्त्री संसदबाट नियुक्त हुन्छ, प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्छ । सर्वोच्चले गठन, विघठन गर्ने होइन । मन्त्रिपरिषद् सम्मानित सर्वोच्च अदालतले विघटन गर्र्यो ।’
राष्ट्रलाई लोकतान्त्रिक बाटोबाट पर सार्ने, विकास निर्माणको गतिलाई रोक्ने, अस्थिरता र अराजकतातर्फ देशलाई धकेल्नेजस्ता कुराहरुलाई रोक्न, राष्ट्रिय राजनीतिलाई ठीक बाटोबाट हिँडाउन, समृद्ध नेपाल, सुखी नेपाली बनाउने उद्देश्यमा नेकपा एमाले दृढ संकल्पित रहेको उनको भनाइ थियो ।
‘नेपालको न्याय क्षेत्रलाई त्यत्तिकै स्वस्थ, पवित्र र निष्पक्ष, आँखामा पट्टी बाँधेर, अनुहार नहेरेर, कसैको आइडोलोजी नहेरेर, कसैको डर त्रासमा होइन, कसैसँगको निकटता होइन, निकटतालाई टाढा राखेर कुनै प्रलोभनमा होइन, फरक ढंगले राष्ट्रका निम्ति सोच्नुपर्छ’ ओलीले भने ।
जबसम्म संविधान छ, तबसम्म संविधानमा भएका व्यवस्थालाई मान्नुपर्ने बताउँदै उनले भने, ‘निर्वाचन भएको ५ वर्ष पुग्नु दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ, तर एक वर्षपछि निर्वाचन गर्नुपर्छ भनेर केही मान्छे कराउँछन्, यो अलमल गर्ने विषय हो र ?’




