समाचार

झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

म्याग्दी। धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो ।

नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए । “नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”

धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । रु. ४० लाख ९४ हजार ४०५ को लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी लाभान्वित भएका गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए ।

धौलागिरि गाउँपालिकाले गतवर्ष सुरु गरेको सात वटामध्ये हालसम्म तीनवटा निर्माण सकिएका छन् । यसअघि वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु. ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो ।

सो पुलबाट मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले बताए ।

यसैगरी धौलागिरि गाउँपालिका–२ को आवासखोलामा रु. ३२ लाख ४१ हजार ८५९ को लागतमा निर्माण भएको ३२ मिटर ट्रस पुलबाट खोरियाका १०० घरधुरी लाभान्वित भएका छन् ।

पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो । गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *