विश्व

म रुसको पहिलो निशानामा छु, तर देश छोडेर भाग्दिन- युक्रेनी राष्ट्रपति

काठमाडौँ । रुसले विहिबारदेखि शुरु गरेको युक्रेन आक्रमण अहिले पनि जारी राखेको छ । लगातार आक्रमण र राजधानी किभलाई घेराबन्दी गरेपछि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की आफ्नो देश युक्रेनमै छन् ।

जेलेन्स्कीले राजधानी कीभबाट भिडियो सन्देश जारी गरेका छन् । उनले आफु परिवारसहित किभमा रहेको र युक्रेनको रक्षाका लागि डटिरहेको बताएका छन् । भिडियोमार्फत जेलेन्स्कीले युक्रेनी नेतृत्व र संसद किभमै रहने घोषणा गरेका छन् ।

युक्रेनको राजधानी किभमा रुसको आक्रमण रोकिएको छैन । अहिलेसम्म धेरैको ज्यान गइसकेको छ । ठूलो संख्यामा मानिसहरु भूमिगत आश्रयमा डराएर बसिरहेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति युद्ध छाडेर देश छाडेर भागेको खबरलाई भिडियो सार्वजनिक गर्दै जेलेन्स्कीले खण्डन गरेका छन् । उनले आफु देश छोडेर नभाग्ने स्पष्ट गरेका छन् ।

जेलेन्स्कीले आफु रुसको पहिलो पहिलो निशानामा रहेको भिडियोमा बताएका छन् ।

युद्ध सुरु भएयता युक्रेनका राष्ट्रपतिको यो दोस्रो भिडियो हो । यसअघि जेलेन्स्कीले एक भिडियो सार्वजनिक गरेर भावुक अपील गरेका थिए ।

उनले भनेका थिए- ‘म, मेरो परिवार र मेरा बच्चाहरू सबै युक्रेनमा छौं । तिनीहरू देशद्रोही होइनन्, तिनीहरू युक्रेनका नागरिक हुन् । मलाई थाहा भएको छ कि म रुसको पहिलो निशानामा छु, जबकि मेरो परिवार उनको दोस्रो निशानामा छ ।’

जेलेन्स्कीले रुसले युक्रेनलाई राजनीतिक रूपमा नष्ट गर्न चाहेको बताउदै अहिले रुसले युक्रेनको राजधानी किभलाई घेरा हाल्ने प्रयास गरिरहेको बताएका छन् ।

यसैबीच रुसी राष्ट्रपति पुटिनले राष्ट्रलाई सम्बोधन गर्दै आफुहरुको रणनीति र नियत एकदम स्पष्ट रहेको भन्दै युक्रेन कब्जा गर्न नचाहेको बताएका छन् । पुटिनले सम्बोधन मार्फत युक्रेनी सेनालाई तुरुन्त आत्मसमर्पण गर्न आग्रह गरेका छन् ।

पुटिनले युक्रेनका सबै जनतालाई त्यहाँको सरकारले बन्धक बनाएको बताउदै जेलेन्स्कीको सरकार लागूऔषध दुर्व्यसनी र नाजीहरूको गिरोह भएको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी सेना राजधानी किभमा प्रवेश गरेको दाबी गरेका छन्, रुसले आगामी ९६ घण्टा अर्थात ४ दिनभित्र किभ कब्जा गर्ने बताइएको छ । रुसी सेनाले आवासीय क्षेत्रलाई निशाना बनाएको छ । जेलेन्स्कीले संसारले हामीलाई युद्धमा लड्न एक्लै छोडेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *