काठमाडाैं। युक्रेनको चेर्नाेबिल आणविक भट्टीलाई रुसी सेनाले कब्जामा लिएको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले दिनुभएको जानकारीअनुसार रुसी सेनाले आणविक भट्टीलाई कब्जामा लिएको हो ।
अत्याधिक मात्रामा उक्त क्षेत्रमा रुसी आक्रमण भएकाले उक्त भट्टी पूर्ण रुपमा सुरक्षित छ भन्ने बारे यकिन भन्न नसकिने उहाँले बताउनुभयो ।
‘यो युरोपकै लागि एउटा सबैभन्दा बढी संवेधनशील सुरक्षा खतरा हो’ उहाँले बताउनुभयो ।
रुसी सैनिक स्रोतका अनुसार न्याटो सैनिक गठबन्धनले शस्त्रास्तद्वारा प्रत्याक्रमण नगरोन् भन्ने सन्देश दिनको लागि उक्त भट्टीलाई नियन्त्रणमा लिएको रोयर्टस् समाचार संस्थाले जनाएको छ ।
सन् १९८६ मा सोभियत संघमा युक्रेन रहँदा यस भट्टीमा परमाणविक दुर्घटना हुँदा विकिरणका कारण धेरै जनधनकाे क्षति भएकाे थियो ।
केही दशकपछि यस क्षेत्रलाई युक्रेनले पर्यटकीय स्थलमा परिणत गरेको थियो । रुसी आक्रमण हुनुभन्दा केही हप्ताअघि मात्र पर्यटकको लागि यस भट्टी बन्द गरिएको हो ।
युक्रेनी राष्ट्रपति भ्लोडोभिर जेलेन्सीले रुसी सेनाले कब्जा गर्नुपूर्व एक ट्वीट गर्नुहुँदै सन् १९८६ को जस्तो दुर्घटना हुनबाट जोगाउन युक्रेनी सेनाले आफ्नो ज्यान हत्केलामा राखेर सामना गरिरहेको बताउनुभएको थियो ।




